• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

तोकिएको समयमा निर्वाचन गराउछौ – एनआरएनए निर्वाचन समिती

Byspainnepal

Sep 17, 2021


गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन अक्टोबर २० तारिख मै हुने गरी तयारी भएको निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक वक्तव्य प्रकाशित गरी निर्वाचनका तयारीका बारेमा जानकारी दिएको हो । संघले १० महाधिवेशन अन्तर्गत हुने चुनावका लागि अधिवक्ता लिलामणि पौडेलको संयोजक्त्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । चुनावको आन्तरिक तयारी गत जुलाइदेखि नै भएको निर्वाचन समितिको भनाइ छ । निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीन जनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले पत्र पठाएर निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । निर्वाचन समितिले भने परराष्ट्रले राखेको चासोको उचित सम्बोन्धन गर्दै चुनाव तोकिएकै मितिमा गराउने जनाएको छ । ‘जुलाइमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ,’ निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एनआरएनए निर्वाचन समितिको प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ । सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ । अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ । यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ ।

गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए membership@nrna.org मा पठाइ दिन हुन समेत सुचित गरिन्छ । आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ । निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ । निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ । महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ ।

निर्वाचन समिति,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
१७ सेप्टेम्बर २०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *