• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

कोरोना संक्रमण बढी देखिएका आठ देश

Byspainnepal

Apr 22, 2021

पछिल्लो समय कोभिड–१९ बाट संक्रमितको संख्या बढ्नाले विश्व आतङ्कित बनेको छ । कोरोना दोस्रो लहरले मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या अस्वभाविक रुपले बढिरहेका देशहरूको तथ्यांक यस्तो छ ।

अमेरिका
अमेरिका अहिलेसम्म कोरोनाको हटस्पट राष्ट्रकै रुपमा चिनिएको छ । विश्वमा रहेका १४ करोड ४४ लाख ८० हजार ४ सय ९९ सय संक्रमितमध्ये ३ करोड २६ लाख २ हजार ५१ संक्रमित अमेरिकामा मात्र रहेका छन् । बुधबार अमेरिकामा ६५ हजार ५७ मा कोरोना संक्रमण देखिएको थियो भने ८ सय ७६ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म कोरोनाका कारण अमेरिकामा ५ लाख ८३ हजार ३ सय ३० जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ ।

भारत
भारतले डिसेम्बर २१ मा एकैदिन सबैभन्दा धेरै संक्रमित देखिएको अमेरिकाको रेकर्ड तोडेको छ । भारतमा बुधबार एकैदिन ३ लाख १५ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण देखियो । यसअघि जनवरी ८ मा अमेरिकामा एकैदिन ३ लाख ७ हजार जनामा कोरोना पोजेटिभ पाइएको थियो ।

त्यस्तै बुधबार मात्र कोरोनाका कारण भारतमा २१ सय १ जनाले ज्यान गुमाएका छन् । भारतमा एकैदिनमा मृत्यु हुनेको
यो नै अहिलसम्मकै उच्च संख्या हो । यसअघि मंगलबार २ हजार २१ जनाले ज्यान गुमाएका थिए । यो तथ्यांकसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १ लाख ८४ हजार ६ सय ७२ पुगेको छ भने कूल १ करोड ५९ लाख २४ हजार ८ सय ६ संक्रमित रहेका छन् । कोरोना संक्रमण हुनेको संख्याको आधारमा भारत दोस्रो नम्बरमा रहेको छ ।

ब्राजिल
ब्राजिल कोरोना प्रभावित देशहरुमध्ये तेस्रो नम्बरमा पर्छ । कोरोना संक्रमणबाट एकैदिन सबैभन्दा धेरै मृत्यु हुनेहरूको तथ्यांकमा बुधबार सबैभन्दा अगाडि ब्राजिल थियो । बुधबार कोरोनाका कारण ब्राजिलमा ३ हजार १ सय ५७ जनाले ज्यान गुमाएका छन् भने ७१ हजार ९ सय १० जना नयाँ संक्रमित थपिएका छन् । यो संख्यासँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४१ लाख २२ हजार ७ सय ९५ पुगेको छ । त्यस्तै मृत्यु हुनेको जम्मा संख्या ३ लाख ८१ हजार ६ सय ८७ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने भारतमा भन्दा ब्राजिलमा नै धेरै रहेको छ ।

टर्की
पछिल्लो समय कोरोनाको चपेटामा परेको अर्को देश हो टर्की । पछिल्लो २४ घण्टामा टर्कीमा ६१ हजार ९ सय ६७ जनामा करोनाको नयाँ केस देखिएको छ । त्यस्तै बुधबारमात्र टर्कीमा ३ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म ४४ लाख ४६ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृत्यु हुनेको कूल संख्या ३६ हजार ९ सय ७५ पुगेको छ । संक्रमितको संख्यामा पछिल्लो समय टर्कीमा असामान्य वृद्धि हुँदै गएको छ ।

फ्रान्स
फ्रान्समा पछिल्लो २४ घण्टामा अस्वभाविक रुपमा कोरोना संक्रमित थपिएका छन् । बुधबार एकैदिन ३४ हजार ९ सय ६८ जना नयाँ संक्रमित देखिएका थिए भने ३ सय १३ जनाको मृत्यु भएको जारी तथ्यांकमा उल्लेख गरिएको छ । यो तथ्याङ्कसँगै फ्रान्समा कोरोना संक्रमितको जम्मा संख्या ५३ लाख ७४ हजार २ सय ८८ पुगेको छ । मृत्यु हुनेको जम्मा संख्या १ लाख १ हजार ८ सय ८१ पुगेको छ ।

रुस
रुस पनि कोरोना महामारीबाट अतीप्रभावित देशहरुमध्ये एक हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण रुसमा ३ सय ९९ जनाको मृत्यु भएको छ । बुधबारमात्र ८ हजार २ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । यो तथ्यांकसँगै रुसमा कोरोना संक्रमितको कूल संख्या ४७ लाख २७ हजार १ सय २५ पुगेको छ । त्यस्तै मृत्यु हुनेको कूल संख्या भने १ लाख ६ हजार ७ सय ६ पुगेको छ ।

जर्मनी
जर्मनीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बितेको २४ घण्टामा जर्मनीमा २७ हजार ८ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ९६ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार ३ सय ८२ पुगेको छ । जम्मा संक्रमितको संख्या भने ३२ लाख ८ हजार ६ सय ७२ पुगेको तथ्यांकमा उल्लेख गरिएको छ ।

बेलायत
बेलायतमा अहिलेसम्म १ लाख २७ हजार ३ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बुधबार बेलायतमा २२ जना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ २ हजार ३ सय ९६ जना नयाँ संक्रमित थपिएका थिए । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको जम्मा संख्या ४३ लाख ९५ हजार ७ सय ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *