• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

कोरोना कालमा पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशत बढ्यो

Byspainnepal

Feb 8, 2021

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विप्रषेण(रेमिट्यान्स) आप्रवाह ११.१ प्रतिशतले बढेर ४ खर्ब १९ अर्ब पुगेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशत मात्र बढेको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू वर्षको पुस मसान्तसम्मको तथ्यांमा आरित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति पत्रले यस्तो देखाएको हो । अमेरिकी डलरमा हिसाब गर्ने हो भने यो ६.७ प्रतिशतको वृद्धि हो ।

स्थिति पत्रअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत छ । त्यस्तै आयात ४.८ प्रतिशतले घटेको छ । निर्यात ६.१ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च ४१५ अर्ब ७५ करेड र राजस्व परिचालन ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ छ ।

विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ११ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १५ प्रतिशत छ । २०७७ पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत थियो ।

२०७७ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत थियो । २०७७ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १०.०४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२२ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पुस महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई ६० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७।४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको  देखाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *