• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

नेपालमा कोरोनाको जोखिम बढेपछि सरकारको कडाइ

Byspainnepal

Mar 24, 2021

काठमाडौं ।
छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढेको छ । संक्रमणको जोखिम बढेपछि नेपाल सकारले कडाइ थालेको छ ।

सभा, सम्मेलन, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न यसअघि नै विज्ञप्ती मार्फत् अनुरोध गरेको सरकारले आज फेरि थप सचेत गराएको छ ।
मास्क नलगाउनेलाई कारबाही, ठूला कार्यक्रम स्थगित तथा होली घरमै बसेर मनाउन सरकारले अनुरोध गरेको हो ।

भिडभाड नगर्न प्रशासनको आग्रह, मास्क नलगाउनेलाई कार्वाही हुने

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले आज एक विज्ञप्ति जारी गर्दै भोलिदेखि सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

अन्यथा त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने कार्यालयले जनाएको छ ।

हालको दिनमा कोभिड १९ को संक्रमणको जोखिम उच्च रहेको, संक्रमणको दर क्रमशः बढ्दै गइरहेको र सीमा क्षेत्रबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं आउने हुँदा जोखिम बढेको कार्यालयले भनेको छ ।

कोभिड १९ को सम्भाव्य जोखिम न्यूनिकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भिडभाड नगर्ने, सार्वजनिक स्थानमा हिंड्दा वा सार्वजनिक सवारीको प्रयोग गर्दा अनिवार्य मास्क लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

यस्तै आजै जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपूरले पनि विज्ञप्ती जारी गरी सार्वजनिक स्थलमा भिडभाड नगर्न, मेला, जात्रा तथा कार्यक्रमहरु नगर्न भनेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले राती ११ बजेदेखि रात्रिकालिन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय समेत गरेको छ ।

प्रशासन कार्यालयहरुले नजिकिंदै गरेको होली पर्व भिडभाड नगरी घरमै बसेर मनाउन पनि आग्रह गरेका छन् ।

घरमै बसेर होली मनाउन आग्रह

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गरेका हुन् ।

अधिकारीले भने, ‘यस वर्षपनि कोरोना केही कम भएपनि केही दिनयता संक्रमणको संख्या उकालो लागिसकेको छ । यस समयमा संक्रमण संख्या र जोखिम पनि बढ्दै गएको छ । त्यसैले होली घरमै मनाउनु हुन र भीडभाड नगर्नु हुन स्वास्थ्य मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’

यसवर्ष चैत १५ र १६ गते होली पर्व मनाइदै छ ।

भयावह अवस्था हुन नदिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् ।

आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताएका हुन् ।

यद्यपि, अहिले भयावह स्थिति नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताए ।

प्रधानमन्त्री जाने कार्यक्रम नै स्थगित

यसैबीच, कोरोना संक्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर जाने कार्यक्रम थियो ।

क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको परिपत्र

कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार कोरोनाको जोखिम बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको सूचना अनुसार गृहले सबै प्रशासन कार्यालयमा पत्र पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *