• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको विभिन्न उपसमिती गठन, सोमवार कानुनी परामर्श कार्यक्रम हुदै

Byspainnepal

Sep 26, 2021


गैर आवासीय नेपाली संघ, स्पेनले स्पेनमा रहने नेपालीहरुलाई आउने कानुनी समस्याको समाधान गर्न कानुनी परामर्श कार्यक्रम गर्ने भएको छ । संघको कार्यालय बार्सिलोनामा सोमवार बेलुका ५ बजे गर्न लागिएको उक्त कार्यक्रममा विशेषगरी आप्रवासी सम्बन्धी कानुनका बिज्ञ वकिल जोर्डी बुस्केट प्लासाको सहभागिता रहने अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिनुभयो । साथै ब्यवसाय गरिरहेकाहरुका लागि परामर्श दिन एकजना खेस्तोरको पनि उपस्थित रहने उहाँले बताउनुभयो । उक्त अबसरमा स्पेनमा पछिल्लो समयमा अपडेट भएका नियम कानुनहरुको बारेमा जानकारी लिनुका साथै स्पेनमा बस्ने नेपालीहरुले सामना गर्नुपरेका अराइगो सोसियल, फेमिली भिजा, लार्गा दुरायिसन तथा ईयु कार्ड, रेसिडेन्सी नविकरण र ब्यापार ब्यवसाय गर्नेहरुले समेत आफुलाई परेको समस्या र समाधानको उपाएको बारेमा जिज्ञासा राख्न सक्ने अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । यस्तो खालको कानुनी परामर्श कार्यक्रमलाई निरन्तरता दिदै जाने र आगामी कार्यक्रममा स्पेनका अन्य क्षेत्रमा बस्ने नेपालीहरुलाई पनि समेट्ने गरी योजना बनाउने बताउनुभयो ।
यसैबीच संघको शनिवार बसेको कार्यसमितीको दोस्रो बैठकले संघका गतिबिधिहरुलाई प्रभावकारी बनाउन विभिन्न उपसमितीहरु गठन गरेको छ । गठन भएका उपसमितीहरुमा अहिले कार्यसमितीको तर्फबाट संयोजक तोकिएको र आबश्यक्ता अनुसार अन्यलाई थप्दै जाने महासचिव विदुर गौतमले जानकारी दिनुभयो । अध्यक्ष शालिकराम डुम्रेको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिती गठन भएको छ भने अन्य उपसमितीमा अनुसासन उपसमितीको संयोजकमा उपाध्यक्ष सनु राउत, लेखा समिती तथा समस्या पहिचान र समाधान उपसमितीको संयोजकमा उपाध्यक्ष कृष्णराम रानाभाट, क्षेत्रहरु र दुताबाससँग समन्वय उपसमितिको संयोजकमा उपाध्यक्ष रोशन पाठक,महिला संमन्वय उपसमिती संयोजकमा महिला उपाध्यक्ष सृजना लामिछाने र उपसंयोजकमा महिला संयोजक देवी गौतम भण्डारी, आर्थिक ब्यवस्थापन उपसमितिको  संयोजकमा कोषाध्यक्ष शन्त बहादुर क्षेत्री, कला संस्कृति र “हेल्लो म नेपाली” कार्यक्रम उपसमिती संयोजकमा सचिव एनके भट्टराई, सुचना तथा प्रचारप्रसार उपसमिती संयोजकमा प्रवक्ता लक्ष्मण खत्री, सन्चार माध्यम समन्वय उपसमितीको संयोजकमा सदस्य कमल पराजुली, विधान उपसमितीको संयोजकमा महासचिव विदुर गौतम, कार्यालय ब्यवस्थापन र संचालन उपसमितीको संयोजकमा सचिव अरुण घिमिरे, युवा तथा खेलकुद उपसमितीको संयोजकमा युवा संयोजक मनुशजंग खड्का रहनुभएको छ । साथै क्षेत्रीय सचिवहरुलाई सम्बन्धित क्षेत्रसँग समन्वय गरी क्षेत्रका गतिविधिबारे केन्द्रलाई जानकारी गराउने जिम्मेवारी दिइएको छ ।


साथै बैठकले सधैको बर्ष जस्तै यस बर्ष पनि दशै तिहार विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । अहिलेको अबस्थामा हलमा भेला भएर कार्यक्रम गर्न सम्भब नभए भच्र्युअल माध्यमबाट भएपनि शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय भएको छ ।

यस्तै बैठकले एनआरएनए स्पेनको भवन खरिदका लागि सहयोग गर्ने ब्यक्तिहरुलाई धन्यवाद दिएको छ । एनआरएनए स्पेनको भवन खरिदको लागि एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुनिल साहबाट १ हजार युरो, संघका उपाध्यक्ष सतु राउतबाट सम्पुर्ण लागतको १ दशमलब ५ प्रतिसत, प्रस्तावित आईसीसी सदस्य प्रकास तिमिल्सेनाबाट सम्पुर्ण लागतको १ प्रतिसत, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङबाट ५ सय युरो र अन्तराष्ट्रिय स्याङ्जा समाजका महासचिव हेमन्त रानाभाटको तर्फबाट ५ सय युरो सहयोगको प्रतिबद्धता आएको छ । साथै संघको बैठकले संस्था दर्ताको लागि प्रक्रिया अघि बढिसकेको र त्यसलाई छिटो सम्पन्न गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *