• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

Byspainnepal

Jan 14, 2021

लण्डन १४ जनवरी / गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा छलफल गरेको हो ।

भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघले विज्ञहरुको रायको आधारमा खोपको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल सरकारसँगको सहकार्यमा कोभिड १९ विरुद्धको खोप किन्न संघ ईच्छुक रहेको उल्लेख गर्नुभयो ।

छलफलमा बोल्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले नेपाल सरकारले नेपालमा खोप लैजान प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै डा. सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिनुभयो । तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिने बारे छलफल र तयारी भइरहेको उहाँको भनाइ थियो ।

उहाँले भारतले बनाएको खोप सहजता र सुलभता एवं अन्यको तुलनामा सस्तो भएका कारणले नेपालको लागि उपयुक्त हुने बताउनुभयो । उहाँले नेपालमा एउटै उत्पादनकर्ताको खोप भित्र्याउन नेपाल सरकारलाई सुझाव दिनुभयो । नेपालको आवश्यकता हेरेर मात्र खोप भित्राउनु पर्नेमा उहाँको जोड थियो।

उहाँले नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने उल्लेख गर्नुभयो ।

भारत, चीन र रसियाबाट नेपालको लागि खोप ल्याउन सकिने उहाँको भनाइ थियो । भारत सरकारलाई नेपाललाई आवश्यक मात्रामा पुरा हुने गरि खोप उपलब्ध गराउन आग्रह गर्न सकिने उहाँले बताउनुभयो।

डा. खनालले नेपालमा खोप खरिद गर्नको लागि आवश्यक ऐन तथा कानूनहरु बाधक रहेको समेत बताउनुभयो ।
छलफलमा गैरआवासीय नेपाली संघ कोरियाका डा देवी बस्नेतले साउथ कोरिया, चीन लगायतका देशसँग सहकार्य गरेर नेपाल सरकारले अघि बढ्न सकिने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुको सक्रियतामा नेपालमा खोप लैजान सक्ने प्रशस्त सम्भवना रहेको बताउनुभयो ।

एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाहले नेपालमा खोप पठाउन व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरेर अघि बढ्न सकिने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गैरआवासीय नेपालीहरुले नेपाल सरकारलाई सहयोग गर्दा आर्थिक सहयोग नगरेर सिधैं खोप उपलव्ध गराउँदा उचित हुने सुझाव दिएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकका निवर्तमान अध्यक्ष डा. केशव पौडेल, सत्य चौधरी, भूमा लिम्बु, बिमला सापकोटा, डा. सगर पौडेलले नेपालमा खोपका सम्भवनाका बारेमा आ-आफ्ना भनाइ राखेका थिए ।

संघले नेपाल सरकारको आग्रहमा आर्थिक संकलनको तयारी गरेको छ । सरकारले बुधवार एक विज्ञप्ति जारी गर्दै खोप कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *