• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

Byspainnepal

Sep 26, 2021

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेदवारीको घोषणा गरेका छन्। आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्। उनी संघका सल्लाहकार एवं पूर्व उपाध्यक्ष हुन्। संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदैछ। निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ।

उम्मेदवारी घोषणा गर्दै आचार्यले भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु। उनले पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयनलाई प्राथमिकता दिने बताए।

आचार्यका मुख्य कार्ययोजना :

– पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।

– म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।

– संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुराउने ।

– राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने ।

– नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ ।

– बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ।

– खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाइने छ ।

– कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।

– एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने छ ।

– विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने छ ।

– एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।

आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्‍याउने बताए। हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्क्रिय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ।

गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनले बताए। थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन्। उनी लण्डनका स्थापित व्यवसायी हुन्। करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई अघि बढाउने बताए।

आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे। उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने बताए।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ।’ नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकेर नेपालमै लगानीको वातावरण बनाउन पहल गर्ने उनले बताए।

उनको प्यानलबाट एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका चिकित्सक डा. केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन्।

आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र परियोजनामुखी बनाउने अभियान अन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *